आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी कुरालाई सधैं ख्याल गर्नुहोस् !

सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी कुरालाई सधैं ख्याल गर्नुहोस् !

नागरिक पाटी

२३, बैशाख २०७८
  • 9.3K
    SHARES
  • सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी कुरालाई सधैं ख्याल गर्नुहोस् !

    काठमाडौं । पर्याप्त अध्ययन अनुसन्धान गर्न सके सेयर बजारबाट मनग्ये लाभ लिन सकिन्छ । तर बजारबाट राम्रो पैसा बनाउन सोचे जति सजिलो पनि छैन । यसका लागि पर्याप्त मात्रामा धैर्यता र अनुसाशनको आवश्यकता पर्दछ । धैर्यता र अनुसन्धानले मात्रै पनि पुग्दैन । बजारका विभिन्न चालहरुबारेमा राम्रो बुझाई पनि उत्तिकै मात्रामा आवश्यक हुन्छ । सेयर बजारमा देखिने दैनिक उतारचढावले कहिलेकाँही बजारको राम्रो जानकार भनिएकाहरुलाई समेत अन्योल र अलमलमा पार्ने गरेको हुन्छ ।

    images

    यस्तो अवस्थामा सेयर कहिले खरिद गर्ने, कति समय होल्ड गर्ने वा कुन बेला बिक्री गर्ने भन्ने दुविधा अनुभवीहरुलाई समेत हुने गर्दछ । तसर्थ, सेयर बजारमा सफल हुन लगानीकर्र्ताले आफ्नो मनोभावनादेखि बजारका विविध आयामहरुको सुक्ष्म अध्ययन गर्नुपर्ने हुन्छ । सेयर बजारमा सफल बन्नका लागि कुनै निश्चित सूत्र (फर्मुला) नभए पनि केही प्रमुख आधारभूत पक्षलाई ध्यान दिनाले भने पक्कै पनि सहयोगी भूमिका खेल्न सक्दछ ।

    १ भीड मनोविज्ञानबाट टाढा रहने

    आम लगानीकर्ताको धेरैजसो निर्णय भीड मनोविज्ञानले निर्धारित गरेको पाइन्छ । कतिपयलाई आफ्ना सहपाटी, साथी, नातागोता लगायतको सुझवले पनि सेयर कारोबारमा निर्णय लिने अवस्थामा पुर्याउँछ । धेरैले आफूले चिनेजानेकाले जुन सेयर खरिद गर्दछन् त्यही सेयर आफूले पनि खरिद गर्ने धेरैको बानी हुने गर्छ । तर यस्तो निर्णय कहिलेकाँही आत्मघाती साबित पनि हुन सक्छ । यसर्थ, आफैंले अध्ययन अनुसन्धान गरेर भीड मनोविज्ञानबाट टाढा रही निर्णय लिन सक्नुपर्छ ।

    २ सुझबुझपूर्ण निर्णय लिने

    सेयरमा लगानी गर्नुअघि उचित अध्ययन अनुसन्धान गर्न आवश्यक छ । तर यो महत्वपूर्ण काम कमैले मात्र गर्दछन् । कतिपयले त कम्पनीको नाम मात्र हेरेर पनि लगानी गर्दछन् । तर सेयर बजारमा लगानी गर्ने यो तरिका कालान्तरमा घातक हुन सक्छ । यसर्थ, आफैंले अध्ययन अनुसन्धान गरेर सुझबुझपूर्ण हिसाबले मात्र लगानी गर्ने बानीको विकास गर्नुपर्छ ।

    ३ जानेको क्षेत्र वा व्यवसायमा मात्र लगानी गर्ने

    यो धेरै सफल लगानीकर्ताहरुले दिने सुझावमध्ये यो एक महत्वपूर्ण पक्ष हो । सेयरलाई हेरेर भन्दा सम्बद्ध कम्पनी वा त्यस उद्योगको व्यापारलाई हेरेर लगानी गर्नु उचित मानिन्छ । व्यापार पनि यस्तो कि जुन आफूले राम्रोसँग बुझेको होस् । अर्को अर्थमा भन्नुपर्दा, कुनै कम्पनीमा लगानी गर्नुअघि उक्त कम्पनीले कुन किसिमको व्यापार गर्छ रु व्यापारमा कत्तिको मुनाफा छ भन्ने जान्न आवश्यक छ ।

    ४ समय अनुमान गरेर लगानी नगर्नु

    यो समयमा र अति समयका लागि बजार उच्च विन्दुमा वा न्यून विन्दुमा रहन्छ भनेर मार्केटमा टाइमिङ मिलाउन खोज्नु खतरनाक हुने सेयर बजारका जानकारहरुले सुझाव दिने गरेका छन् । प्रख्यात लगानीकर्ता वारेन बफेट पनि कुनै निश्चित सेयरको प्राइस लेभललाई अनुमान गर्न सकिए पनि बजारलाई अनुमान गर्न नसकिने बताउँछन् ।

    ५ अनुसाशित लगानी रणनीतिलाई पछ्याउने

    अनुशासित रणनीति बजारमा आउने उतारचढावबाट प्रभावित नहुनका लागि पनि निकै आवश्यक छ । ठूलो बुल रनका बेला पनि लगानीकर्ताले सम्पति गुमाउने गरेका छन् । स्पष्ट र अनुशासित लगानी रणनीति नहुँदा बजारको उतारचढावले नै निर्णय प्रभावित गर्ने भएकाले नोक्सान व्यहोर्नुपर्ने हुन सक्छ ।

    ६ मनोभावनामा आधारित लगानी निर्णय नलिने

    कतिपय लगानीकर्ताले आफ्ना मनोभावनामा नियन्त्रण गर्न नसक्दा पनि बजारबाट ठूलो नोक्सान व्यहोर्ने गरेका छन् । लगानीकर्ताले मुख्यगरी, भय अथवा डर र लोभलाई नियन्त्रण गर्न आवश्यक छ । बुल मार्केटमा छिटो पैसा बनाउन लोभ गर्ने र बियरिस बजारमा डराएर सेयर खरिद गर्नै नसक्ने अवस्था पनि हुन्छ । यस्ता पक्षबाट लगानीकर्ता सजग र सचेत हुन आवश्यक छ ।

    ७ पोर्टफोलियो विविधिकरण गर्ने

    न्यूनतम जोखिममा राम्रो प्रतिफल प्राप्त गर्नका लागि विभिन्न क्षेत्रका कम्पनीहरु तथा लगानी उपकरणमा लगानी विविधिकरण गर्नु राम्रो मानिन्छ । विविधिकरणले जोखिम कम गर्न सहयोग पुर्याउँछ ।

    ८ यथार्थपरक अपेक्षा राख्ने

    आफ्नो लगानीबाट राम्रो फाइदा गर्ने अपेक्षा राख्नु कहिल्यै पनि गलत होइन । हरेकले फाइदाको अपेक्षा गरेरै लगानी गर्ने हो । नोक्सानका लागि कसैले लगानी गर्दैन । तर अपेक्षा सधैं यथार्थपरक हुन आवश्यक छ । लगानी गर्ने कम्पनी तथा समग्र सेयर बजारको यथार्थपरक विश्लेशणका आधारमा मात्र यस्तो अपेक्षा राख्नुपर्छ ।

    ९ बचतमा रहेको पैसा मात्र लगानी गर्नुहोस्

    कतिपयले ठूलो दाउ हात पार्ने लोभमा आफ्नो भएभरको सम्पति सेयर बजारमा खन्याउने गरेको पनि पाइन्छ । यद्दपि, आफ्नो आर्थिक अवस्था धरासायी नबनाउन कतिसम्म जोखिम लिने भन्ने विषयको पनि लेखाजोखा गर्नुपर्दछ । यसअर्थमा, बचतमा रहेको पैसा मात्र लगानी गर्नु भन्नाले तपाई सेयर बजारमा कतिसम्म गुमाउने क्षमता राख्नुहुन्छ भन्नेसँग पनि सम्बन्धित छ ।

    १० पोर्टफोलियोलाई निरन्तर अनुगमन गर्ने

    लगानी गरिसकेपछि आफ्नो पोर्टफोलियो के कस्तो अवस्थामा छ भन्ने विषयमा सँधै चनाखो बन्नुपर्दछ । विश्वव्यापीकरणको अहिलेको समयमा विश्वको कुनै कुनामा घटेको घटनाले पनि सेयर बजारमा असर पुर्याउँछ । तसर्थ, पोर्टफोलियोलाई आफ्नो चाहना अनुसारको बनाइराख्न निरन्तर अनुगमन, समीक्षा तथा आवश्यकता अनुसार परिमार्जन पनि गर्नुपर्दछ । - नेपाली पैसा

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - २१:४५:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology