काठमाण्डौँ । डिप्रोक्स र नाडेप लघुवित्त एक आपसमा गाभिने भएका छन् । गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्न नाडेप लघुवित्त वित्तीय संस्थाले आइतबार संस्थाको छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । डिप्रोक्सले भने गत चैतमा नै साधारणसभा सम्पन्न गरिसकेको छ ।
लघुवित्तको साधारण सभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट, नागार्जुन काठमाण्डौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले नाडेप लघुवित्त, डिप्रोक्स लघुवित्तसँग विलय प्रकृयामा जाने सम्झौता गरिसकेकाले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरुको अनुमोदन गर्नेछ ।
यस्तै नियामकीय निकायको निर्देशन बमोजिम प्राप्ती सम्बन्धी कार्यका लागि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायत अन्य आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ बाट लगानीकर्तालाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । गत वर्षको मुनाफबाट १५ प्रतिशत बोनस बाडेको डिप्रोक्स लघुवित्तको चुक्तापूँजी १ अर्ब १५ करोड रहेको छ भने नाडेपको चुक्तापूँजी ४० करोड ४८ लाख रहेको छ । प्राप्तिको शेयर स्वाप भने डिडिए पश्चात तय गरिने बताइएको छ । हालसम्म सबैभन्दा धेरै चुक्ता पूँजी भएको एनआइसी एशिया लघुवत्तको चुक्ता पूँजी एक अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।
डिप्रोक्सको केन्द्रीय कार्यालय चितवनको भरतपूरमा छ भने नाडेपको केन्द्रीय कार्यालय धादिङको गजूरीमा छ। डिप्रोक्सले ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत र नाडेपले ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।
डिप्रोक्सले दुई लाख २२ हजारभन्दा बढी सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ भने नाडेपले ८० हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जनाइएको छ । ।