राष्ट्र उत्थान लघुवित्तको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बाँडफाँड भएको छ । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।
कम्पनीले फागुन ४ गतेदेखि जारी पुँजी २६ करोड रुपैयाँको ३२।६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । जसमध्ये १३ हजार कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो ।
सर्वसाधारणबाट कुल ७ लाख ९४ हजार ५०० कित्ताका लागि आवेदन माग भएकोमा २५ लाख ८५ हजार २६१ जना आवेदकबाट २ अर्ब ९४ करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयरका लागि आवेदन परेको थियो ।
जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको र योग्य २५ लाख ७९ हजार ४०२ जनाको आवेदन सदर भएको बिक्री प्रबन्धकले जनाएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेकाले बिहीबार धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका गोला प्रथाबाट बाँडफाँड भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि खुला गरेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर १० कित्ताका दरले गोलाप्रथाबाट बाँडफाँड गर्दा ७९ हजार ४५० जना आवेदकले मात्रै सेयर प्राप्त गरेका छन् । बाँकी २४ लाख ९९ हजार ९५२ आवेदकको भने हात खाली भएको छ ।
कम्पनीको आईपीओ नतिजा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको वेबसाइट, सीडीएससीको मेरो सेयरको वेबसाइट र सीडीएसले आईपीओका लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने छ ।