चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।
इच्छाकामना–२ तोवाङ र इच्छाकामना– १ भाराङमा चेपाङ घरबास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए। उनले पृथ्वीराजमार्गअन्तर्गत धादिङको हुग्दीखोलाबाट चितवनको इच्छाकामना–२ काउले तोवाङ, हात्तीवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ चौकीडाँडा र कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको पद मार्गमा आउने पर्यटकलाई लक्षित गरी चेपाङ घरबास सञ्चालन गर्न स्थानीयलाई सहयोग गरिएको जानकारी दिए ।
चेपाङ समुदायको आयस्तर वृद्धिका लागि थप घरबास सञ्चालन गर्न सपना भिलेजले आर्थिक सहयोग र तालिम उपलब्ध गराउने बताए ।