नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा आएको आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सन्तुलित तथा समयसापेक्ष रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले बैंकिङ व्यवसायका लागि आगामी दिन सुनौला दिन आउने बताएका हुन् ।
उनले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको बताए । यसले बैंकिङ क्षेत्रलाई निकै फाइदा हुने विश्वास गरिएको पनि उनले बताए ।
सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा बैंकलाई कर छुट दिनुपर्नेजस्ता सुुझाव राखिए पनि पूरा नभएको गुनासो उनले गरे । यद्यपि, विदेशबाट ऋण ल्याउँदा ब्याजदरमा लाग्ने कर घटाइनु राम्रो पक्ष भएको उनको भनाइ छ ।