✍️ रेश्मी लामिछाने
धपधप बलेको मुहार, रगत चुहिन लागेका गाला, छिनेको कम्मर, सलसल बगेका केशका लहरा । यो संसारमा कसैको बैस छचल्किएर पोखिन लागेको छ र त्यसले सागर बगाउन खोज्दैछ भने त्यो केसराको बैस हो, सागरलाइ कायल पारेको उसको जवानी हो ।
आजकल सागरको सपनामा बैसका छाल बोकेर उर्लिदै आउछ केसराको जवानी । संसारकै सबैभन्दा राम्री लाग्छ सागरलाई केसरा । हुन पनि ऊ भर्खर १७ पुगेर १८ मा टेक्दैछे । उसले भर्खर भर्खर बालापन छोड्दैछे, उसले भर्खर भर्खर चञ्चल मनका गुनासाहरु सुन्दैछे । उसका मनमा रहर जाग्छन, कोही आए हुन्थ्यो बाइपंखी घोडामा कतै स्वर्गीय संसारमा पु¥याए हुन्थ्यो, संसारका सारा खुशी उसकै पोल्टामा भरिए हुन्थ्यो । ऊ पनि आजकल रातमा सुत्न सक्दिन, नत मनका कुरा कहि पोख्न नै सक्छे ।
दुई चार दिन भयो बर्खे झरि रोकिएको । सायद अब झरिले सताउँदैन होला । सागर बुवासँग अचेल स्कुल सँधै जान्छ । ऊ पनि मास्टर भएको छ । हेड मास्टरको छोरो मास्टरै भएको छ । उसलाई बाउजस्तो स्कुल धाउने कुनै सौख थिएन तर बाध्यता त्यस्तै आइपरेको छ ।
२ वर्ष पहिले १२ पास गरेर विदेश जान्छु भनेर कसैलाई नभनी सागर काठमाडौं हानिएको थियो । यता सागरका बाउआमा झण्डै ५ दिन भोक न तिर्खा न त रातमा नै निन्द्रा भएर बसेका थिए । ५ दिनसम्म अफ गरेको सागरको मोबाइलबाट एक्कासी फोन आउँदा हेड मास्टर र हेडमास्टर्नीको बल्ल सास आएको थियो । साथीको पछि लागेर गएको सागर साथीको मामाकै डेरामा सरण लिएर बसेको कुरा बतायो । साह्रनै जिद्धी स्वभावका कारण सागरले बच्चादेखि नै दुख दिइरहेको थियो ।
यो पटक त उनीहरुको हंसले नै ठाउँ छोडिसकेको थियो । भैगो नि त्यो बजियाको इच्छा नै यस्तै भएपछि के गर्नु त, जाओस बरु विदेश । दुइ चार वर्ष बसेर रित्तो हात फर्केपछि मात्र यसले चेत पाउँछ भनेर हेड मास्टरले सागरलाई विदेश पठाउँने विचार गरे । पैसा लिएर आउँछु चाँजो पाँजो मिलाउँदै गर भनेर हेड मास्टर ३ दिनको बिदा मिलाएर काठमाडौं हिँडे । भर्खरै बर्खे बिदा सकिएर स्कुल सुरु हुँदैथियो । यस्तो बेला पनि हेडमास्टर जस्तो मान्छे फुत्त निस्किन गाह्रै थियो तर पनि जिद्धी छोराको कुरा काट्न नसकेर हेडमास्टर काठमाडौंतिर लागेका थिए ।
त्यति बेलै हो काठमाडौंमा बाउ छोराको भेट नहुँदै हेडमास्टरको पैसा चोरले लुटेर लगिसकेको थियो । उता सागरले दुबइ जान्छु भनेर भर परेको साथीको मामालाई दुइ नम्बरी धन्दा गरेको अभियोगमा जेल चलान गरिएको थियो ।
गाउँमा पुगिसरी भएर पनि अरुको देखासिखी गर्दै विदेश जाने सागरको सोच त्यतिबेला बद्लियो जुनबेला उसले सुन्धारामा आफ्नो पैसाको बिटो हराएको, छोराको खुशीमा आफ्नो खुशी खोजिरहेको लाचार बाबुलाइ पसिना पुछ्दै गरेको देखेको थियो । त्यतिबेला निकै बेर बाबुछोरा अंगालो हालेर रोएका थिए । त्यसपछि सागरले कहिल्यै विदेश जाने जिद्धी गरेन ।
अहिले सागरलाई आफ्नै गाउँ प्यारो छ । बिहान बजारको क्याम्पसमा पढ्न जान्छ । क्याम्पसबाट सिधै गाउँ नजिकैको स्कुल पढाउन जान्छ । उसलाई अचेल स्कुल जान हतार हुन्छ । उसलाई कक्षाकोठाभित्र भन्दा पनि बाटोमा आउँदा जाँदा देखिने केसराको रुपले स्कुल जान र स्कुलबाट घर फर्किन हतारो बनाउँछ ।
खुसुक्क नाम मात्र पत्ता लगाएको सागरलाइ केसराको बारेमा अरु केही जानकारी छैन । उसको गाउँ कटेपछि आउँछ केसराको गाउँ । केसराको घर कटेपछि स्कुलको कम्पाउण्ड सुरु हुन्छ । सागर केसरालाइ बिछट्टै राम्री देख्छ । त्यसो त केसरालाई अरुले पनि बिछट्टै राम्री देख्छन । केसरा छ नै त्यस्तै सबैलाई मोहनी लगाउने ।
सागर स्कुल जाँदा आउँदा केसरालाई देख्छ । कहिलेकाही नजर पनि जुध्छ । ऊ बोल्न लजाउँछ या भनौ ऊ सारै डराउँछ । तर पनि उसले हेर्न र नजर जुधाउन भने छोडेको छैन ।
सँधै देख्ने केसरालाई एकदिन ऊ अचानक गायव भएको पाउँछ । उसलाई त्यो दिन निकै पट्यार लाग्छ । विधार्थीहरु हल्ला गर्दा पनि कहिकतै कसैको चित्कार सुनेजस्तो लाग्छ उसलाई , किन किन कहिल्यै पनि नसुनेको केसराको चित्कार जस्तो लाग्छ उसलाई ।
त्यो साँझ सागरले खाना खाएन । आमा बुवासँग पनि बोल्दै बोलेन । सँधै घर फर्किदा बुवासँगै फर्किने छोरा एक्लै घर फर्किएको थियो ।
राती उसलाई सपना ऐठन पर्छ । ब्युझिएर एक अंखारा पानी एक सासमै पिउँछ ।
बिहान अबेरसम्म सुतेको सागर आज क्याम्पस पनि गएन । स्कुल जाने बेला भएको थिएन तर हिजोको भात आफैले भुटेर खाएर स्कुलतिर निस्किन्छ ।
उसलाई थाहा थिएन उसको मनमा चलेको त्यो आँधी तुफान के थियो ? एकदिन देख्न नपाउँदा छट्पटिएको ऊ सोचिरहेको छ, आखिर केसरामा के छ त्यस्तो जसले भित्रभित्रै जलाइरहेको छ उसलाई ?
स्कुल पुग्नै लाग्दा ऊ केसराको घरतिर चोरिचोरि नजर लाउँछ । उसका आँखामा एक्कासी चमक छाउँछ । अनायासै उसका दाँत देखिन्छन । एकैछिनमा ऊ बाइकमा होइन बाइपंखी घोडामा चढि आकाशमा उडेको जस्तै पाउँछ ।
कपडा सुकाउँदै गरेकी केसरालाई उसले देख्छ । आज पनि उसको केसरासँग नजर जुध्यो । तर उसले केसराका आँखामा गहिरो बेदना देख्यो । उसले भोगेको गहिरो चोटले अनायासै सागरको मुटुमा चस्स बिझ्यो ।
सागर स्कुल पुग्छ । अफिस कोठा बन्द थियो । ऊ एकछिन बाइकमै अडिएर बस्छ । उसको आँखामा एकैछिन अगाडि जुधेका ती नजर झलझली आइरहन्छन । के छ त्यो मनमा पिडा अनि किन खुल्दैनन ती गुलाबी ओठ ? किन मौन छे केसरा ? किन अव्यक्त भावले यसरी सताइरहेछ ?
हिजो आँखा अगाडि नपाउँदा छटपटिएको सागर आज आँखा आँखा जुध्दा पनि त्यतिकै ब्याकुल छ । अझ भनौ नदेख्दा जति छटपटिएको थियो सायद त्यो भन्दा कैयौ गुणा मौन केसराका आँखाका चिच्याहटले उसलाई सताउन थालेको छ ।
दिनभरी कक्षाकोठामा भुलेको सागर घर फर्किदा फेरि केसराको घरतिर नजर लगाउँछ । केसरा फेरि त्यहि देखिन्छे । सुकेका लुगा उठाउँदै छे । फेरि नजर जुध्छ । सागर त्यो भाव बुझ्नै सक्दैन ।
ऊ घर पुग्छ । उसलाई हिजोको पिडा र आजको पिडा कतै एउटै लाग्छ , कतै फरक लाग्छ । तर दुवै पिडा उसलाई केसराबाटै मिलेको थियो । आज पनि घरमा ऊ खासै बोल्दैन तर आमा बुवासँगै खाना खान्छ । बढ्दो उमेर छ, कहिलेकाही यस्तो हुनु सामान्य हो भन्ने उसका आमा बुवाले बुझ्छन । उसलाई केही भन्दैनन ।
सागरका मनमा अनेकन प्रश्न आउँछन, सताउछन । फेरि अर्काथरी प्रश्न ति पहिले आएका प्रश्नलाइ धकेल्दै पर पु¥याउँछन । उत्तरविहिन सागर रातभरी प्रश्नसँगै गुघुती खेल्छ । बिहान पख झपक्क के भएको थियो उठ्नेबेला हुन्छ । हिजो त ऊ क्याम्पस गएको थिएन तर ऊ आज क्याम्पस जान तयार भयो ।
बिहानपख झिसमिसेमा बजारतिर गइरहेको सागरले केहि देख्छ । बाइकको लाइटले अलि पर उभिएको मान्छे चिने चिने जस्तो लाग्छ । नजिकै पुग्दा उसले केसरालाई देख्छ । बाइक रोक्छ । केहि बोल्न खोज्छ तर उसलाइ हिम्मत आउँदैन । यति बिहान झिसमिसेमा हातमा सानो झोला च्यापेर ऊ सायद गाडि कुर्दै थिइ । उसका रसाएका आँखाले उसलाइ झनै ब्याकुल बनाए । यति देखिसकेपछि सागर मौन बस्न सक्दैन । ऊ बोल्छ ।
‘कहाँ हिडेकी तिमी यति बिहानै ? हातमा झोला पनि छ त गाडी कुरिरकेको हो तिमी ? ’
सागरको आँखा पढिरहेकी केसरा हुक्क हुक्क गरेर रुन्छेमात्र जवाफ दिन्न । यतिकैमा कोही त्यहाँ आइपुग्छ ।
‘ए सर पो हुनुहुँदो रैछ । नमस्कार सर । ’ सागर झसङ्ग हुन्छ । उसले त्यहि अनुहार देख्छ जुन केसरा बस्ने घरमा बेला बेला देख्थ्यो । सागरले पनि नमस्कार फर्कायो ।
उसलाइ लाग्थ्यो ऊ केसराको बुवा हो तर आज उसले केसराको नजरमा त्यो व्यक्ति प्रतिको डर र त्रास देख्छ । त्यो त्रास देख्छ जुन एउटी छोरीको बाउप्रति होइन । उसले केसराको नजरमा परपुरुषको डर देख्छ । उसले केसराको पाखुरामा समाएर तान्छ । केसरा चुपचाप बाइकमा चढ्छे । त्यो मान्छे केहि नबोलि बाइक हाक्छ । केसरा झनै डराएर सागरलाई हेर्छे । पर पुग्दासम्म नजर जुधिरहन्छ ।
सागर झनै केसराको पिडामा लटपटिदै जान्छ । ऊ कतिखेर क्याम्पस पुग्यो, कतिबेला स्कुल जाने समय भो मेसो पाउँदैन । क्लास सकिएपछि ऊ क्यान्टिनमा खाना खान जान्छ । खाना भागमा मात्रै लिन्छ । २ गाँसदेखि उसले खानै सक्दैन । यतिकै पैसा तिरेर हिड्छ ।
ऊ स्कुलतिर जाँदैछ तर मनमा चलेको आँधीले उसलाइ अघि बढ्न दिँदैन । उसलाई आज केसराको घरतिर हेरौं कि नहेरौं भन्ने प्रश्नले बाँधिरहेको छ । प्रश्नहरुसँग जुध्दाजुध्दै केसराको घर आइपुग्न लाग्छ । उसले नहेरि जान सक्दैन । केसराको घरतिर नजर लाउँछ । उसका आँखा ठुला ठुला हुन्छन । आँखा अनायासै रसाउँछन । उसले कहिल्यै नसोचेको र कहिल्यै नदेखेको दृश्य देख्छ ।
सँधै धपधप बलेको मुहार, रगत चुहिन लागेका गाला, छिनेको कम्मर, सलसल बगेका केशका लहरा देखेर मोहित भएको सागरले घरको ढोकमाा घोप्टो परेर रोइरहेको केसरालाई देख्छ । ऊ रोकेर भित्र पस्न सक्दैन नत चिच्याएर उसलाई बोलाउन सक्छ । ऊ आफ्नै गतिमा स्कुल पुग्छ ।
सागरलाई दिउँसै ऐठन परेजस्तो हुन्छ । छटपटिमा लामो लामो सास फेरिरहन्छ । उसलाई सँधै प्यारो लाग्ने कक्षा कोठाहरुले आज तर्साइरहेका छन ।
जसोतसो दिन कट्छ । घर जानेबेला हुन्छ । दुईदिन देखि एक्लै घर फर्किएको सागरले बुवालाई पर्खिन्छ । छोरासँगै जाने भएपछि हिजो अस्ति घरसम्म पु¥याइदिएका श्याम सरलाई हेडमास्टरले इशाराले नै बिदाइ दिन्छन ।
स्कुलको गेटबाट बाहिर निस्किएपछि सागरको मुटु ढुकढुक हुन्छ । उसले केसराको घरमा नजर नलगाई जानै सक्दैन । डराइडराइ केसराको घरमा हेर्छ । उसले घरको ढोका बन्द देख्छ । अझै नियालेर हेर्छ , ढोका भित्रबाट चुकुल लगाएको हुन्छ, बाहिरको चुकुल खुल्लै हुन्छ ।
मनमा अनेकथरी कुरा खेलाइरहेको सागरले एक्कासी बुवालाई सोध्छ ।
‘ बुवा हाम्रो स्कुल छेउको घरमा को को बस्छन ? ’
‘ कुन घर छोरा ? त्यो घर जुन जहिले पनि सुनसान हुन्छ, रातो रंगले पोतेको घर ? ’
‘ हो बुवा त्यही घर । ’
‘ खै के भन्ने त्यो घरको कुरा त ’
बुवाले निराश हुँदै यसरी भन्दा सागर ठुलै खाल्डोबाट खसेजस्तै हुन्छ । बुवालाई डराइडराइ सोध्छ, ‘ किन बुवा ? के छ र त्यो घरको वास्तविकता ?’
‘ खै छोरा के भनौ ? ’ हेडमास्टर झन दिक्क मान्छन ।
बुवाका यस्ता दिक्क लाग्दा जवाफले सागरलाई भित्रभित्रै झनै छाति पोल्छ । उसले अलि ढिपि नै गर्छ । हेडमास्टरले घरमै गएर भन्छु भनेर कुरा टार्छन । यता सागरलाई भित्रभित्रै यो कुराले ब्यग्र बनाउँछ । उसलाई आधी घण्टाको बाटो पनि निकै टाढा लाग्छ । मनमा अनेक किसिमका डर, प्रश्न बोकेर सागर घर पुग्छ । उसले घर जानासाथ उसको खुलदुली मेट्न पाउँदैन । बुवालाई बारम्बार त्यहि कुरा दोहो¥याएर सोधिरहन पनि उसलाई अप्ठेरो लाग्छ । बुवाले भन्ने छाटकाट नदेखेपछि उसले पुराना शिक्षक श्याम सरलाई सोध्ने विचार गर्छ ।
उसलाई फेरि आजको रातमा पनि ऐठनले सताउँछ । छटपटिमै उसको रात बित्छ । झिसभिसेमै ऊ क्याम्पस जान्छ । हिजो बिहान जुन ठाउँमा उसले केसरालाई देखेको थियो, त्यो ठाउँमा पुग्दा झस्किन्छ । उसलाई झनै हजारौ प्रश्नले थिच्न थाल्छन । क्लास सकिएपछि ऊ सिधै स्कुलतिर लाग्छ ।
आज पनि ऊ केसरालाई हेरौं कि नहेरौं भन्ने दोमन हुन्छ । केसराको घरमा खासै कोहि आउजाउ गर्दैनन । यतिका दिनसम्म सागरले केसराको घरमा कोही आएको गएको देखेको थिएन । तर आज परैबाट केसराको घरमा मान्छे दौडिदै गरेको देख्छ । सागर ब्याकुल हुन्छ केसराको घर पुग्न । उसलाइ हरेक सेकेण्ड बर्षौ जस्तै लाग्छ ।
मनमा अनेकन त्रास लिएर ऊ केसराको घर अगाडि पुग्छ । बाइक रोकेर गेटभित्र पस्छ । भिड पन्छाउँदै डर र त्रासमा गुजुल्टो पर्दै अघि बढ्छ । एकाएक उसका पाइला जमिनमा धसिन्छन, बादल मडारिएर उसकै आँखा अगाडि आउँछ । एकाएक उसको संसार उजाडिन्छ । उसको कल्पनामा हाँस्दै, गाउँदै, नाच्दै आउने केसरा उसको अगाडि लम्पसार परेर सुतेकी छे ।
सागर चिच्याएर रुन खोज्छ, केसराका केश सुम्सुमाएर सोध्छ चाहन्छ ‘केसरा तिमीलाई के भयो ? किन मौन छौ तिमी ?’
ऊ केसराको सामु घुँडा टेकेर रुन चाहन्छ, चिच्याउन चाहन्छ तर सागर चुपचाप छ । कसरी ऊ अरुका सामु आफ्ना पिडा देखाउन सक्छ ? कसरी ऊ भन्न सक्छ कि ऊ केसरालाई कति गहिरो प्रेम गर्छ ?
अघिसम्म केसराको मौन अनुहार हेरेर मौन बसेको सागरले उसका हातका निल डाम देख्छ, केसराको सुरुवालबाट बगेको रगत देख्छ । उसका मानसपटलमा जन्मिएका प्रश्नले उसलाई अठ्याउँछन । ऊ कसैलाई केहि सोध्न खोज्छ, उसको बोली फुट्दैन । भित्रबाट २ जना पुलिस बाहिर निस्किन्छन । उनीहरुको पछिपछि एउटा चिनेको अनुहार पनि बाहिर आउँछ । यो त्यहि मान्छे थियो जो हिजो बिहान केसराको पाखुरा समाएर केसरालाई फर्काएर घर ल्याउँदैथियो ।
केसरा भर्खर १५ पुगेर १६ मा लागेकी थिइ । उसका मनमा भर्खरै रहरहरु जन्मिदै थिए । जवानीको मादकताले भर्खर भर्खर उसलाई मदहोस बनाउँदै थियो । भर्खरै मात्र उसले मिठा मिठा सपना देख्न थालेकी थिइ । भर्खरै मात्र त ऊ सपनाको राजकुमारसँग बाइपंखी घोडामा उड्दै थिई । तर उसले खुलेर मजाले हाँस्न नपाउँदै एउटा कालो रात आयो । अचानक उसलाई जडिया बाउले अधबैसे लोग्नेमान्छेको हातमा थमाइदिएर बिदा गरिदियो ।
केसराका आँखाले हजारौ प्रश्न गरे । आँसुका भेल बगे तर जडिया बाउले सुनेन । सायद कहिल्यै बोलेकी भए सुन्थ्यो होला । आजसम्म नफुटेको उसको बोलि त्यो दिन पनि फुटेन । शायद उसकी आमा जिउँदो हुन्थि भने पक्कै आँखाको भाषा बुझ्थि होलि । जण्डिस बिग्रिएर संसार छोडेकी उसकी आमाले गतिलो मान्छेको भर पाएकी भए सायद आज ऊ पनि हुन्थि होला अनि आवाज बिहिन छोरीको आवाज पनि सुन्थी होला ।
थाहा छैन उसलाई उसको जडिया बाउले कति पैसामा त्यो अधबैसे मान्छेको जिम्मा लगायो । तर यति चाहि उसले बिन्ती गरेको हुनुपर्छ कि जबसम्म मेरी छोरी राजी हुन्ने तबसम्म उसको छेउमा नजानु ।
त्यो अधबैसे लोग्ने मान्छे कहिले गाउ आउने कहिले अन्तैको घरतिर जाने गरेको सबैलाई थाहा थियो । कहिलेकाही नचिनेका केटी मान्छे सँगै लिएर आउथ्यो । कोही महिनौ बस्थे कोही हप्ता दिन नहुँदै कुलेलाम ठोक्थे ।
काखको छोरो लिएर भागेकी उसकी बुढीलाई उसले कहिल्यै खोजि गरेन बरु फेरि फेरि कहिले कलिला केटी, कहिले अधबैसे आइमाई घरमा लिएर आयो । तिनै मध्येकी एक केसरा पनि थिइ ।
केसरालाई ल्याएपछि त्यो मान्छेले अरु केटी घरमा ल्याएन । आफु बरु बेला बेला हराउथ्यो । झण्डै २ वर्ष केसरा उसको घरमा बसि । घरभित्र के हुन्थ्यो छिमेकीलाई समेत थाहा हुन्थेन । यस्तो हर्कत गर्ने बम बहादुरलाई गाउँ निकाला गर्न पनि कोही सक्दैनथे । स्कुल भएको सबै जग्गा उसको बुवाले दान दिएका थिए । उसलाई वर्षको १ पटक भएपनि स्कुलले सम्मान गर्नुपथ्र्यो । गाउलेलाई पैसाको खाँचो पनि टारिदिने गथ्र्यो । त्यसैले पनि उसलाई कसैले केहि भन्ने आँट गर्दैनथे ।
घरमा काम सघाउँने कान्छीको बयान अनुसार मालिकले यतिका समयसम्म केसरालाई केही दुख पनि नदिएको र छोएको सम्म पनि नरहेको बताइ । गएको दुइ तिन महिना बम बहादुर घर आएको रहेनछन । त्यहि बेला केसरामा केही परिवर्तन आएको थियो । बाटोतिर हेरिरहने, टोलाइरहने, ऐना हेरिरहने, कपाल सुम्सुमाइरहने । केसरामा लज्जापन र बैसको उन्मात छछल्किदै थियो । बम बहादुर घरमा आएपछि केसराको चाल देखेर निकै रिसाएको रहेछ । परपुरुषको छायाँ उसले केसरामा पाएछ । तिन दिन अगाडि बम बहादुरले रिसले कोठाभित्रै साँचो लगाएर केसरालाइ राखेको रहेछ । त्यहि भएर त्यो दिन सागरले केसरालाई देखेको थिएन । फेरि दुइ दिन अगाडि साँझमा बम बहादुर निकै मातेर आएको रहेछ । मातेको बेला केसरालाइ तथानाम गालि गरेको रहेछ । केही नसुन्ने केसराले उसको आँखाको भाषा र व्यवहार बुझेर हत्तपत्त कोठाभित्र चुकुल लगाएर बसेकी रहिछ । र एकाबिहानै घर छोडेर भागेकी रहिछ । हिजो बिहानको कुरा त थियो सागरले केसरालाई गाडी कुरिरहेको देखेको अनि पछि बम बहादुर घर लिएर पनि आएको थियो ।
हिजो राती पनि बम बहादुरले निकै रक्सि खाएर आएछ । ऊ सरासर केसराको कोठामा पसेको रहेछ । बिचरी रातभरी कति छटपटाइ होलि । कति चोटी बम बहादुरले उसलाइ लुछ्यो होला । कति पटक उसले उसको मनमा बसेको मान्छेलाई सम्झिहोला । फक्रिएको उसको जवानी एकरातमै क्षचविक्षत भो । सायद त्यसैले होला सागर पनि रातभरी प्रश्नैप्रश्न डुबेको थियो ।
यी सारा कुरा सागरलाइ आँखा अगाडि देखेजस्तै भयो । ऊ केसरालाइ भन्न चाहन्थ्यो ऊ उसको जवानीको प्यासी थिएन, उसलाइ केसराको धपधप बलेको मुहारले भित्रभित्र राक्षस बनाएको थिएन , ऊ भन्न चाहन्थ्यो उसका केस सुम्सुमाएर उसलाइ पगाल्न चाहन्थेन । सागर भन्न चाहन्थ्यो , केसरा तिमी धपक्क बलेकी साक्षात लक्ष्मिको रुप हौ, तिमी आँखाका ज्योतिले निश्चलता लेख्ने सरस्वती हौ, तिमी आइपर्दा जटा फिजाएर राक्षसको वद गर्ने दुर्गा हौ । केसरा तिमी त्यो शितल चौतारी हौ जहाँ म बर्षौको थकान मेट्न खोजिरहेको एक बटुवा हु जो तिम्रै शितल छहारीमा जिन्दगी बिताउन चाहन्थे ।
केसरा एकचोटि त भनिदेऊ म त्यहि मान्छे थिए जसलाई तिमी चिहाइचिहाइ बाटोमा हेथ्र्यौ । मात्र एकचोटि भनिदेउ केसरा तिमी मेरो लागि सोह्र श्रृंगार गथ्र्यौ भनेर । एकचोटी त भनिदेउ केसरा सबैलाई तिम्रो मनमा बसेको मान्छे म नै थिए भनेर ।
सागर कराउँछ, चिच्याउछ , तर उसको चित्कार कसैले सुन्दैन । ऊ चुपचाप मनभित्रै चिच्याइरहेछ । ऊ एउटा कुनामा बसेर एकोहोरो केसरालाई हेरिरहन्छ । केसरा शान्त छे । उभित्रका सबै भावहरु चुपचाप छन, शुन्य छन । हिजोसम्म बोल्ने उसका आँखाले पनि आराम गरिहेका छन । सागर कतै अर्कै संसारमा हराउँछ, लाग्छ ऊ केसरसँगै कतै शुन्य ठाउँमा बिलिन हुँदैछ ।
ऊ हेरिरहेको छ । केही मान्छे आउँछन । चुपचाप लडिरहेकी केसरालाई उठाउँछन । केहि पर लगेर लास बोक्ने भ्यानमा राख्छन । एक्कासी सागरको सुनसान जिवनमा हल्लाखल्ला मच्चिन्छ । एकाथरी भन्छन ‘लासलाई पोस्टमार्टम गर्न हस्पिटल लैजानुपर्छ । ’
अर्काथरी भन्छन ‘ बाउको जिम्मा लगाउनुपर्छ । ’
सागर चिच्याएर भन्न खोज्छ ‘मेरी केसरालाई कतै नलग । उसको कोमल शरीरलाइ नचिर, उसलाई दुख्छ । उसलाइ त्यो पापी बाउको हातमा नसुम्प त्यसले मेरी केसरालाई फेरि बेचेर खान्छ । ’
सागरका वाक्य फुट्न सक्दैनन् । केसरालाई बोकेर भ्यान हुइकिन्छ । भ्यानको पछि पछि बम बहादुरलाइ हालेर पुलिसको गाडि जान्छ ।
भर्खरै एउटा सपना तुहियो । भर्खरै मायाको कोपिला चुँडेर कसैले कुल्चिदियो । एकाएक सबै भाव विलिन भए । एकाएक सबै रित्तो भयो । शुन्य संसार बोकेर भर्खरै एउटा जिउँदो लास जिवनको परिभाषा पढाउन स्कुल पस्यो ।
वर्षौ बित्यो सागरले त्यहि स्कुलमा पढाइरहेको छ । हेडमास्टर रिटायर्ड भए । ऊ अहिले स्कुलको हेडमास्टर भएको छ ।
पुलिसको भ्यानमा बसेर गएको बम बहादुर कहिल्यै फर्किएर त्यो घरमा आएन । सागर स्कुल आउँदा जाँदा त्यो रातो रंगले पोतिएको सुनसान घर आज पनि हेर्छ । उसलाई कुनै अदृश्य चिजले आज पनि मोहनी लगाइरहेको छ ।
त्यो घरमा शिर उठाएर हेर्ने सागर मात्र हो । अरुले त भन्ने गर्छन त्यो घरमा भुत बस्छ । कोही पनि त्यो घरतिर फर्केर हेर्न सक्दैनन् । कतिले त भन्छन त्यो घरमा केसराको आत्मा छ । जिउँदो छँदा नबोलेकी केसरा राती राती जहिले पनि ‘मास्टरसाब मास्टरसाब’ भन्दै गुन्गुनाउँदै छमछम पाउँजु बजाउँछे रे ।
Reshmi Lamichhane : Gemstones Diamond Media Pvt. Ltd. Director