यही २०७९ मंसिर ४ गते सङ्घिय प्रतिनिधि सभा र प्रदेश प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ । यदि देशमा कावु भन्दा बाहिरको परिस्थिति आएन भने उक्त दिन वा यसैको आसपास निर्वाचन हुने निश्चित छ । यो लोकतान्त्रिक प्रणालीको अनिवार्य सर्त पनि हो । निर्वाचनमा भाग लिने राजनितिक दल र तिनका कथित नेताहरु आफु र आफ्नो दललाई कसरी जिताउने भन्ने रणनितिमा लागिसकेका छन् । दलिय व्यवस्थामा यो स्वाभाविक हो ।
यदी राजनीतिमा युवा र शिक्षित नयाँ मतदाताले नयाँ तरिकाले सोचेनन् बिरालो बाँधेर श्राद्ध गर्ने प्रवृतिलाई परिर्वतन गर्न सकेनन् र निर्वाचनको मतदानको समयमा पटक पटक गर्दै आएको गल्तिलाई सँच्याउने हिम्मत गरेनन् भने निकै पछुताउनु पर्ने छ । र तीनै कुहिएर गन्हाएका, भ्रष्ट्राचारको अहालमा डुबेका र निती तथा कनुनले डामेका तर पावर र पैसाको भरमा चोखिएर उम्किएका कलंकहरुको पञ्जामा राजनीति र सत्ताको बागडोर पुग्ने निश्चित छ ।
हाम्रो देशको सन्दर्भमा बि.सं. २००७ देखि हाल सम्मको राजनीति र सत्ता सञ्चालनको इतिहास हर्ने हो भने मृत्यु भइसकेका केही नेताहरु बाहेक सिमित मुठ्ठीभरका नेताहरुको पञ्जा वा कब्जाबाट राजनीति र सत्ता उम्कन सकेको छैन । हजारौं युवा कार्यकर्ता लम्पट भएर उनीहरुका दास सिवाय केही हुन सकिरहेका छैनन् । आफुलाई शिक्षित, नवपर्वतनकारी र युवा शक्ति बताउन चाहाने उनिहरु न ती कुहिएर गन्हाएका, भ्रष्ट्राचारको अहालमा डुबेका र निती र कनुनले डामेका तर पावर र पैसाको भरमा चोखिएर उम्किएका कलंकहरुलाई सँच्याउन सक्छन्, न उनीहरुलाई पाखा लगाएर नेतृत्व आफैँले लिन ! न त विद्रोह गरेर नयाँ राजनीतिक अभियानको सुरुवात नै ! ती कथित नवपर्वतनकारी युवाको यस प्रकारको निरिहता, अन्धभक्तता र कलङ्कित नेतृत्वको दौराको फेर समातेर राजनीति र सत्ताको स्वाद चाख्ने दिवा स्वप्नले गर्दा देश, जनजीविका र राष्ट्रियता सङ्कटमा परेको छ । साथै ती युवा भनिएकाहरुको सिर्जनशिल र उर्जाशिल समय फोहोरी र कलङ्कित नालीमा बगेर स्वाहा हुने निश्चित छ ।
पछिल्लो समय अर्थात् २०७९ को बैसाखमा सम्पन्न स्थानिय तहको निर्वाचनले नेपाली राजनीतिमा केही परिवर्तनको सङ्केतहरु देखिएका छन् । आम सर्वसाधारण र राजनीतिक दलमा आस्था राख्ने इमान्दार साधारण कार्यकर्ताहरुमा केही आशा र विस्वास पलाएको महशुस भएको पाईन थालेको छ । राजनीतिमा देखिएको यसप्रकारको सकारात्मक सङ्केत र संभावना देखि अत्तालिएर कुहिएर गन्हाएका, ती गीद्धरुपी ब्वाँसाहरु बर्बराउन थालेका छन् । रेबिज लागेको कुकुर झैँ जनताका सेवकहरुलाई चिर्थोने र दुर्वचन बोल्ने गर्न लागेका छन् । आफ्नो राज समाप्त हुने भय र त्रासले गर्दा तिलमिलाएर लम्पट कार्यकर्तालाई भ्रममा पारीरहेका छन् । बाहिर जतीसुकै कुर्लिए, उफ्रिए वा दुर्वचन निकाले पनि यो सबै उनीहररुको पतनको पूर्व सङ्केत हो । निभ्नु अगाडीको चम्किएको दियोको सङ्केत हो । अन्तिम राजनीतिक जिजीविषाको सङ्केत हो ।
राजनितीमा सकृय ‘सागर, बसन्त र कृष्ण’ अब तिमीहरुले निर्मम तरिकाले सोच्ने वेला आएको छ । कुहिएर गन्हाएका, भ्रष्ट्राचारको अहालमा डुबेका र निती र कानुनले डामेका तर पावर र पैसाको भरमा चोखिएर उम्किएका कलंक ‘बा’, ‘काका’ र ‘दाइ’को दास बन्ने कि स्वाभिमानी देश भक्त ? नेपाली आमाको सच्चा सन्तान बन्ने कि भ्रष्ट्र नेताको सेवक ? आफ्नै योग्यता र क्षमताको आडमा असल राजनेता बन्ने कि भ्रष्ट्र र कलङ्कितहरुको दौराको फेरमा झुष्डिएर उनीहरुको आर्शिवाद थापेर दुर्गन्धित पात्र ? हो, सोच्ने बेला आएको छ ! हिम्मत गर्ने वेला आएको छ ! आफ्नो योग्यता र क्षमताको प्रर्दशन गर्ने वेला आएको छ ! राष्ट्रियता र जननजीविकाको पक्षमा वलिदानी दिने समय आएको छ ! यो अवसरलाई तिमीहरुले सदुपयोग गर्ने पर्छ । भ्रष्ट्रहरुले फोहोरको आहालमा डुवाएको राजनीतिलाई पुर्नजीवन दिनै पर्दछ । अवको राजनीतिमा नेतृत्व गर्ने तिमीहरुले नै हो । खाडीको साठी डिग्रीको तातोमा रगत पसिना बगाउन वाध्य आम दाजुभाइ तथा दिदीबहिनीलाई यही देशमा हिरा फलाउने अवसर प्रदान गर्नुपर्छ । तस्कर, विचौलिया, माफिया र लुटेराहरुको राजलाई उदाङ्गो बनाउनु पर्दछ । राजनीतिमा परिवारवाद, नातावाद, डनवाद र चाकडीवादलाई निर्मुल बनाउनु पर्दछ ।
सके आफु संलग्न दलका ती भ्रष्ट्र, कलङक र असफल सिद्ध कथित नेतृत्व परिवर्तन गरि आँफैले नेतृत्व लिनु पर्दछ । यदी त्यो संभव नभएमा विद्रोह गर्ने हिम्मत गर्नुपर्दछ । मेरा बाबुले फलानु चिन्हमा भोट हाल्ने गरेका थिए, मैले पनि यसैमा हाल्नु पर्दछ, भन्ने ‘बिरालो बाँधेर श्राद्ध गर्ने प्रवृत्तिको अन्त्य गर्नु पर्दछ । परिर्वतनकारी, पद प्रति आशक्त नराख्ने, निष्कलङ्क र असल चरित्र भएको नेतृत्वलाई जुनसुकै दल, आस्था र पक्षको भएपनि जिताउनु पर्दछ । अहिले यति गर्न सक्यौ भने तिमीहरुको भविष्य उज्जल छ । राष्ट्र र जनताको भविष्य उज्जल छ भने भ्रष्ट्र प्रवृत्तिको अवसान अवश्यंभावी छ ।