ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६१ जनाको ज्यान गएको छ ।
दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी ६१ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दुर्घटनालगत्तै दुःख व्यक्त गर्नुभएको छ । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेको बीबीसीले जनाएको छ ।