बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले सोमबार जनाएको छ ।
हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् ।
बंगलादेशको राजनीतिक परिवर्तन बंगलादेशी जनताको छनोट रहेको बताउदै उनले बंगलादेशी जनताले नै आफ्नो सरकारको निर्माण र विघटन गर्नु पाउनुपर्छ भन्ने पक्षमा अमेरिका रहेको उनले बताए ।
हसिनाका छोरा तथा पूर्वसरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बंगलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्यपि उनले कुनै प्रमाण भने पेस गरेका थिएनन् ।
मे महिनामा हसिनाले विदेशी शक्तिलाई बंगलादेश सरकारलाई सैन्य विमानस्थल ९एयरबेस० निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएकी थिइन् ।
संयुक्त राज्य अमेरिकाको सामान्यतया बंगदेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्यपि हालको अवस्थामा बंगलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको शृंखला चलिरहेको देखिन्छ ।