बाकु । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को सोमबारदेखि सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा जलवायुले निम्त्याएका समस्याको सामना गर्न विश्व समुदायबीच एकता र सहकार्यताको लागि अपिल गरियो । २२ तारिख (मङ्सिर ७ गते)सम्म चल्ने कोपमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुगेका छन् ।
कोपको उद्घाटन सत्रमा बोल्ने तीन वक्ताहरु कोप २९ का अध्यक्ष मुख्तार बाबायेभ, निवर्तमान कोप २८ का अध्यक्ष सुल्तान अल जाबेर, संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु परिवर्तनको समस्या समाधानमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
सम्मेलन उद्घाटनका क्रममा कोप २९ का अध्यक्ष बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेकाले समस्या समाधानमा एकता र सहकार्यमा जोड दिनुपर्ने बताए ।