गाजामा मृत बन्धकहरूको शव फिर्ता प्रक्रिया सुस्त भएकोमा इजरायलले युद्धविराम सम्झौताको उल्लंघन भएको आरोप लगाएको छ । मानवीय सहायता बोकेका ट्रकहरूको संख्या आधा घटाउने घोषणा पनि गरेको छ । यसअघि इजरायल र हमासबीच जारी युद्धविरामलाई लिएर आशाको किरण देखिएको थियो ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता शाखाका प्रवक्ता ओल्गा चेरेवकोले आफूलाई गाजामा मानवीय सहायता पुर्याउने जिम्मा लिएको इजरायली सैन्य एजेन्सीबाट यो कटौतीको जानकारी दिइएको बताइन् ।
जीवित बन्धकहरू सबै फिर्ता गरिए पनि हमासले अझै फिर्ता नगरेका २० जना मृत बन्धकहरूको शवलाई लिएर हमास र इजरायली सरकार दुवैमाथि दबाब बढिरहेको बताइएको छ ।
इजरायली अधिकारीहरूले हमासले बन्धकहरूको शव हस्तान्तरण गर्न नसकेर युद्धविराम सम्झौता उल्लंघन गरेकाले सहायता अवरोध सहित इजिप्टसँगको राफाह सीमा नाका खोल्ने योजनामा ढिलाइ गर्ने निर्णय गरिएको बताए । हमासले भने मृत बन्धकहरूको शव पत्ता लगाउन गाह्रो भइरहेको प्रतिक्रिया दिएको छ ।