अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार गएराति अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ नजिकैको खोल्मामा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो।
कतारी सञ्चार माध्यम अलजजिराका अनुसार भूकम्प स्थानीय समय अनुसार राति १२ बजेर ५९ मिनेटमा झन्डै २८ किलोमिटर गहिराइमा गएको हो ।
स्थानीय अधिकारीहरूले आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गरेका छन् तर अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आएको छैन । मजार–ए–शरिफका बासिन्दाहरू मध्यरातमा घर भत्किने डरले सडकमा निस्किएका खबरमा उल्लेख छ । सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले धेरै ठूला भूकम्पहरूको सामना गर्नुपरेको छ ।
यसै वर्ष, अगस्ट ३१ मा देशको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २२ सयभन्दा बढी मानिसको ज्यान गएको थियो । एजेन्सी